दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाएको छ । तीन दिन मात्रै चलेको हिउँदे अधिवेशन सकिएको पत्र बिहीबार प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयलाई पठाएको हो ।
नेकपा एमालेले मुख्यमन्त्री डिल्ली चौधरीले सदन छल्न अधिवेशन नै अन्त्य गरेको भन्दै विरोध गरेको छ । फागुन २३ गते यसअघिको सत्ता साझेदार नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री चौधरी अहिले अल्पमतमा परेका छन् । तर प्रदेश प्रमुखको कार्यालयमा फागुन ३० गते लेखिएको पत्र चैत १ गते प्राप्त भएकाले चैत १ कै मितिको पत्र पठाउन भन्दै प्रदेश प्रमुखको कार्यालयले पत्र फिर्ता पठाएको छ ।
सदन स्थगित गरेर प्रदेश प्रमुखको पत्राचार गरेको सरकारका प्रवक्ता गृहमन्त्री सन्तोष पाण्डेले बताएका छन् । “तत्काल सदनमा कुनै विषय भएनन् र बिजनेस नभएकोले स्थगित गरिएको हो, बदलिँदो समीकरणले विश्वासको मत नि लिनुपर्ने हुन सक्छ, त्यो समयमा पुनः आह्वान हुन्छ ”, उनले भने ।
