गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा सरकारी सेवा सुविधा लिने जनप्रतिनिधि तथा कर्मचारीका छोराछोरी अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था गरेको छ । नगरपालिकामा सार्वजनिक शिक्षालाई व्यवस्थित र गुणस्तर बनाउनका लागि सरकारी सेवासुविधा लिनेका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको हो ।

नयाँ शैक्षिक सत्रदेखि यहाँका जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीका छोराछोरी र उनीहरूले अभिभावकत्व लिएका बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गराउनुपर्ने नगर सभामा निर्णय गरिएको छ । सामुदायिक विद्यालय सुधारसँगै शिक्षाको गुणस्तर सुधार्ने जिम्मेवारीमा रहेकाहरूले आफ्ना सन्तान र आफूले अभिभावकत्व लिएका बालबालिकाहरूलाई नपढाएमा सामुदायिक विद्यालयमा कसरी सुधार आउँछ भन्ने ठूलो प्रश्न रहेको भन्दै यस नगरपालिकाको शिक्षाको गुणस्तरमा सुधार ल्याउन यस्तो निर्णय गरिएको नगरप्रमुख जिवलाल खरेलले बताए ।

यस नगरपालिकाभित्र ७१ वटा सामुदायिक विद्यालय जसमा केही समायोजन भएर हाल १६ वटा माध्यमिक विद्यालय, आठ वटा निम्न माध्यमिक विद्यालय र अन्य प्राथमिक विद्यालय रहेका छन् ।