इन्द्रेणी समाचारदाता
दाङ । दाङको घोराहीमा आजदेखि बाह्रौं अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सव सञ्चालन हुँदैछ । एभरेष्ट नेपाल कल्चर ग्रुप काठमाण्डौंको आयोजन तथा दाङ जिल्ला उद्योग वाणिज्य संघको स्थानीय आयोजनमा सञ्चालन हुन लागेको महोत्सव फागुन २१ गतेसम्म चल्ने छ ।
महोत्सवको पहिलो दिन आज विहान ११ बजे घोराहीको ट्राफिक चोकबाट झाँकीसहितको शोभायात्रा निकालिनेछ । शोभायात्राले घोराहीका विभिन्न स्थान परिक्रमा गरी महोत्सव स्थल कृषि सामग्री केन्द्रको मैदानमा आएर महोत्सव उद्घाटन हुने मूल आयोजक समितिका संयोजक एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीले बताएका छन् ।
महोत्सवमा नेपालसहित १३ राष्ट्रका कलाकारहरुले सांस्कृतिक प्रस्तुति देखाउने कार्यक्रम छ । महोत्सवमा नेपालसहित भारत, जर्मन, अस्ट्रेलिया, वेल्जियम, बोत्स्वाना, इस्टोनिया, ईजरायल, मलेशिया, पेरु, पोल्याण्ड, दक्षिण अफ्रिका तथा दक्षिण कोरियाका करिव ३०० जना राष्ट्रिय तथा अन्तरास्ट्रिय कलाकार सहभागी हुने छन् ।
महोत्सव अवलोकनका लागि उद्घाटनका दिनवाहेक अन्य दिनमा टिकेटको व्यवस्था गरिएको छ । सामान्य टिकेटको शूल्क १०० रुपैयाँ राखिएको छ भने विशिष्ट टिकेटको शूल्क ५०० रुपैयाँ राखिएको छ ।
