दाङ । विभिन्न विरोधका कार्यक्रमको घाोषणा गर्दै केही दिनदेखि दाङमा आन्दोलनमा उत्रिएका स्वर्गद्वारी गुठीपीडित मोही किसानलाई आन्दोलन रोकेर वार्तामा आउन सरकारले आह्वान गरेको छ । वार्ता गर्न सरकारले एक समिति पनि गठन गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले एक विज्ञप्ति जारी गरी मन्त्रालयका सहसचिव कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको जनाएको छ । समितिका सदस्यहरुमा जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी, भूमिसुधार तथा मालपोत कार्यालय दाङका प्रमुख मालपोत अधिकृत, गुठी संस्थान र स्वर्गद्वारी आश्रमका एक एक जना प्रतिनिधि रहेका छन् ।

समितिले आन्दोलनरत पक्षसँग वार्ता गर्नुका साथै समस्याको वस्तुस्थिति, यस विषयसँग सम्बन्धित सर्वोच्च अदालतबाट विगतमा भएको आदेश, संघर्षरत पक्षको माग र अन्य सम्बद्ध पक्षसँगको छलफलको आधारमा विद्यमान समस्या समाधानका लागि कानुनसम्मत, व्यावहारिक र कार्यान्वयनयोग्य सुझाव प्रस्तुत गर्ने मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।