घोराही । भोलिदेखि घोराहीमा शुरु हुने बाह्रो अन्तराष्ट्रिय लोकसांस्कृतिक महोत्सव २०८० को उद्घाटन लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापाले गर्ने भएका छन् ।
‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक सांस्कतिको आधार’ भन्ने मूल नाराका साथ घोराहीमा यही फागुन १८ गतेदेखि २१ गतेसम्म हुने अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सवको उद्घाटन मन्त्री थापाले गर्ने आयोजक मूल समितिका संयोजक तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले बताए । महोत्सवमा नेपालसहित १३ देशका कलाकारहरुले आफ्नो प्रस्तुति राख्ने छन् ।
घोराहीको कृषी सामाग्री केन्द्रको प्राङ्गण (जिल्ला अदालतको पश्चिमतर्फ) मा हुने महोत्सव पूर्व शोभायात्रा हुने भएको छ । ट्राफिक चोकबाट सुरु भएर निमाहल रोड, गणेश मन्दिर, बैंक रोड, दामोदर चोक, भानु चोक, शहिद गेट हुदै शोभायात्रा महोत्सव स्थलमा पुग्ने छ । शोभायात्रा विहान ११ बजेबाट शुरु हुने छ ।
यसैबीच शोभायात्रामा सहभागी हुन सम्पूर्ण संघसंस्था, टोल विकास संस्था, विद्यालय, वस्तुगत समिति, आमा समूह, युवा क्लब, बाल क्लब, ट्रनिङ सेन्टर, जातजाति समूह लगायत सम्पूर्णमा सहभागी हुन दाङ जिल्ला उद्योग वाणिज्य संघले आह्वान गरेको छ । साथै महोत्सव आयोजक दाङ जिल्ला उद्योग वाणिज्य संघले शोभायात्रालाई भव्य रुपमा स्वागत गर्न टोलविकास संस्था, घरबेटी तथा व्यवसायीहरुलाई अध्यक्ष बसन्त जोशी र महासचिव महेन्द्र बुढाथोकीले विज्ञप्ती निकालेर अनुरोध गरेका छन् । शोभायात्रामा जिल्लाका १० पालिकाको सहभागिता रहनेछ ।
