बारा । बाराको निजगढ नगरपालिका–७ मा सोमबार शङ्कास्पद वस्तु विस्फोट हुँदा थप दुई जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।
घटनामा गम्भीर घाइते भएका वीरगञ्ज महानगरपालिका–९ बस्ने २० वर्षीय रितु रजत र भारतको मोतिहारी जिल्ला ढाकाथाना गवाई गाउँ बस्ने ३५ वर्षीय राकेश जयसवालको मृत्यु भएको छ । वीरगञ्जस्थित नेपाल मेडिसिटी वयोधा अस्पतालमा उपचारको क्रममा रजतको सोमबार राति पौने १० बजे र जयसवालको मङ्गलबार बिहान ७ः३० बजे मृत्यु भएको हो ।
निजगढ नगरपालिका–७ मा रहेका रोहित वर्कसपका सञ्चालक ४५ वर्षीय रेशम मगरको सोही अस्पतालमा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताएका छन् । गम्भीर घाइते भारतको रामगढवा बस्ने २० वर्षीय अरविन साहको आईसियू कक्षमा उपचार भइरहेको छ भने वीरगञ्ज महानगरपालिका–९ बस्ने ३४ वर्षीय फिरोज देवान र निजगढ नगरपालिका–५ बस्ने ४५ वर्षीय सूर्यबहादुर थापाको सामुदायिक अस्पताल निजगढमा उपचार भइरहेको छ । आईसियूमा उपचाररत साहको अवस्था गम्भीर छ भने देवान र थापाको अवस्था सामान्य छ ।
यसैबीच यो घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सोमबार दिउँसो १२ बजे (हाई एक्सफ्लोसिप) शङ्कास्पद वस्तु ग्यासले काट्ने क्रममा विस्फोट हुँदा भएको घटनाको अनुसन्धानका क्रममा कवाडी खरिद गर्ने भारत मोतिहारी जिल्ला बस्ने अन्दाजी ४० वर्षीय राज भनिने रमेश जैसवाल र कवाडी बिक्री गर्ने निजगढ नगरपालिका–९ बस्ने २९ वर्षीय टीकाराम पाख्रिनलाई पक्राउ गरिएको हो ।
