कालीकोट । कालीकोटमा नुनको अभाव देखिन थालेको छ । ११ केजी नुन पाउन एक जनाले दुई हजारदेखि २५ सय रुपियाँसम्म खर्च गर्नुपर्ने अवस्था छ ।
नुन लिन नागरिकले आफ्नो नागरिकताको फोटोकपी बुझाउनुपर्ने हुन्छ । जिल्लाका स्थानीय नागरिकले ११ पाकेट नुन लिनका लागि दुई हजारदेखि दुई हजार पाँच सय खर्च गर्नुपर्छ भने साथमा नागरिक्ता अनिवार्य ल्याउनुपर्ने बाध्यता छ ।
नागरिकता नभएमा नुन नपाउने र नागरिकता भएकाले रु। एक सयको ११ केजी नुन पाउने व्यवस्था छ । केही महिना प्रति व्यक्ति पाँच किलो अर्थात् पाँच पाकेट नुन पाउने गरेका यहाँका नागरिकले अहिले भने अलि कोटा थपेर ११ पाकेटसम्म पुगेको छ ।
कालीकोटको खाँडाचक्र नगरपालिका १० चौकीका ६२ वर्षीय जगबहादुर शाही मङ्गलबार नुन लिन मान्ममा रहेको साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडको कार्यालय पुगे । सामान्य नुन लिनको लागि पनि प्रमाण खोजेको देख्दा उनलाई अच्चम लाग्यो । डेढ घण्टा लाइनमा बस्नुभएका शाही नागरिकता नभएपछि नुन नलिई घर फर्किए ।











