सल्यान । बालबालिकामा पठनसिप वृद्धि गराउने र पढ्ने बानीको विकास गर्ने उद्देश्यले सल्यानका सामुदायिक बिद्यालयमा बालमैत्री पुस्तकालय स्थापनालाइ तिब्रता दिइएको छ ।

चालू आर्थिक बर्षको हाल सम्म जिल्लाका २४ सामुदायिक बिद्यालयमा पुस्तकालय संचालनमा आएका छन् । जिल्लाका स्थानीय तह, रुम टु रिड र दलित बिकास समाजको संयुक्त साझेदारीमा संचालित साक्षरता कार्यक्रम अन्तर्गत बालमैत्री पुस्तकालय स्थापनाको अभियानलाई तिब्रता दिइएको हो ।

बुधबार मात्रै जिल्लाको बागचौर नगरपालिकामा ८ वटा बालमैत्री पुस्तकालय उद्घाटन भएको रुम टु रिडका वरिष्ठ कार्यक्रम अधिकृत बाबुराम पोखरेलले जानकारी दिए । सरस्वती माबि जामुनेचौर, अमरज्योती माबि, शिशु जागरण माबि खोरबारे, महेन्द्र माबि पिपलनेटा, सरस्वती आबि चिनाली, जनचेतना आबि दह, राष्ट्रिय आबि बैलडांडा र शिसुकल्याण आबि हारिचारमा बालमैत्री पुस्तकालय उद्घाटन गरिएको हो ।

४ वटा बिद्यालयमा पुस्तकालय उद्घाटन गर्दै बागचौर नगरपालिकाका प्रमुख जनकराज गौतमले विद्यालयमा शैक्षिक गुणस्तर बढाउन पुस्तकालयको महत्वपुर्ण भुमिका हुने बताए । बालमैत्री पुस्तकालयमा साना कक्षाका विद्यार्थीले रमाइला रमाइला बालकथाका पुस्तक पढ्न पाउने, आफूलाई मन पर्ने पुस्तक घरमा लगेर पनि पढ्न पाउने भएकाले शैक्षिक क्षेत्रमा यो निकै महत्वपूर्ण लगानी रहेको उनको भनाइ छ ।