एएफपी । दक्षिणपश्चिमी पाकिस्तानमा एक चुनावी उम्मेदवारको कार्यालय बाहिर बुधबार भएको विस्फोटमा परी कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका छन् ।
क्वेटा सहरबाट करिब ५० किलोमिटर टाढा र अफगानिस्तानसँगको सीमाबाट करिब १०० किलोमिटर टाढा रहेको पिशिन जिल्लामा एक स्वतन्त्र उम्मेदवारको कार्यालय नजिकै आक्रमण भएको थियो । क्वेटाका एक प्रहरी अधिकारीले नाम नबताउने सर्तमा एएफपीसँग भने, “१२ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।”
“प्रारम्भिक अनुसन्धानले मोटर साइकलमा राखिएको विस्फोटक पदार्थ विस्फोट भएको देखिएको छ,” उनले भने ।
निर्वाचनका लागि ५० लाखभन्दा बढी सुरक्षाकर्मी बुधबारदेखि तैनाथ हुन थालेका छन् भने ९० हजारभन्दा बढी मतदान केन्द्रमा मतपत्र वितरण गरिएको छ ।
सन् २०१८ को चुनावपछि स्थापित बहुमतको सरकारका प्रधानमन्त्री इमरान खानलाई चार वर्षपछि अविश्वासको प्रस्तावमार्फत सत्ताबाट पदच्युत गरिएको थियो । पाकिस्तानी प्रधानमन्त्रीबाट हटाइनु भएका र हाल जेलमा रहेका पूर्वप्रधानमन्त्री खानको पार्टी तथा नेताहरूलाई विभिन्न अभियोग लगाउँदै निर्वाचनमा सहभागी हुनबाट रोक लगाइएको छ । स्थानीय समयअनुसार बिहीबार बिहान ८ः०० बजे मतदान सुरु भई साँझ ५ः०० बजे मतदान सम्पन्न हुनेछ । रासस











