दाङ । घोराही १५ स्थित मेचीकाली सेकेन्डरी बोर्डिङ स्कूलले आफ्नो २६ औं वार्षिकोत्सव मनाएको छ । आज बुधबार एक कार्यक्रमको आयोजना गरी स्कूलले वर्षिकोत्सव मनाएको हो ।
कार्यक्रममा वार्षिकोत्सवको अवसरमा भएका विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भएका विद्यार्थी तथा विद्यालयको शैक्षिक गतिविधिमा उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
सो अवसरमा बोल्ने वक्ताहरुले मुलुकको समृद्धि र विकासको नेतृत्व विषयगत शिक्षाले गर्न सक्ने उल्लेख गर्दै अबको शिक्षा विषयगत, व्यवहारिक, सिपमूलक र समयसापेक्ष हुनुपर्ने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्म केसीको अध्यक्षत्तामा भएको कार्यक्रममा प्रमुख अतिथि घोराही उपमहानगरपालिका वडा नंं. १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेयले शिक्षा क्षेत्र समाज विकासको आधार भएकाले स्थानीय सरकार शिक्षा क्षेत्रको चौतर्फी विकासका लागि योजना बनाएर लागेको बताए । बालबालिकाको अभिसुचीलाई आत्मसाथ गर्दै विद्यालयहरुले पनि आफ्नो शैक्षिक गतिविधिलाई अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रमका विशिष्ठ अतिथि नेपाल पत्रकार महासंघ दाङ शाखा निवर्तमान अध्यक्ष एवं घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासन, शिक्षक अभिभावक संघका अध्यक्ष मौसम आचार्य, प्याव्सन दाङका वरिष्ठ उपाध्यक्ष बिजय जिएम, घोराही नगर प्याव्सनका अध्यक्ष विरेन्द्र चन्द, शिक्षक महासंघ घोराहीका अध्यक्ष निशान्त आचार्यलगायतकाले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यालयको बारेमा प्रिन्सिपल चक्र रावतले जानकारी दिएका थिए । सो अबसरमा विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले बनाएका कलाहरुको प्रदर्शनी समेत गरिएको थियो भने स्कूलका विद्यार्थीहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण विद्यालयका इञ्चार्ज नवराज खत्रीले गरेका थिए ।











