बाँके। चोरी, डकैटी, तस्करी गर्नेका अनेकन जुक्त्ती भन्ने कुरा हामीलाई थाहै भएको हो । यी र यस्तै जुक्त्ती सुन्दा र देख्दा हामीलाई कहिले काही अच्चमीत पार्दछ ।
यस्तै अच्चमीत पार्ने किसिमको प्रयास नेपालगञ्ज नमुनाहा नाकामा देखिएको छ । यस नाकाबाट तस्करले सुरक्षाकर्मीलाई झुक्याउन आलुभित्र लागूऔषध ब्राउन सुगर भित्र्याउने गरेको पाइएको छ । कहिले जुत्ता त कहिले चामलको बोरा वा अन्य विभिन्न ठाउँमा लुकाएर लागूऔषध भित्र्याउँदै आएका तस्करले पछिल्लो पटक लागूऔषध ब्राउन सुगरलाई आलुभित्र लुकाएर राखेर भित्र्याउन खोजेको पाइएको छ।
आलु काटेर त्यसभित्र लागूऔषध ब्राउन सुगर लुकाएर फेरि आलुलाई जोडेर भित्र्याउन खोज्ने दुई जनालाई ब्राउन सुगरसहित नेपाल भारत नाकामा रहेको जमुनाह प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले नेपाल–भारतको सीमा क्षेत्र जमुनाह नाकाबाट जिल्ला कञ्चनपुर महेन्द्रनगर नगरपालिका–३ बस्ने २९ वर्षीय तीर्थराज पन्थ र जिल्ला बहराइच रुपैडिहा बस्ने २५ वर्षीय अनवर हुसेनलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
भारतीय बजार रुपैडिहाबाट मोटरसाइकलमा सवार नेपालतर्फ आउँदै गरेका उनीहरूलाई विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा आलुभित्र लुकाई राखेको अवस्थामा ६ ग्राम लागूऔषध ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए ।
