दाङ । प्रेस चौतारी दाङले आफ्नो स्थापना दिवसको अवसरमा चौतारीसँग आवद्ध विभिन्न पत्रकारहरुलाई सम्मान एवं पुरस्कृत गर्ने भएको छ । माघ २२ गते परेको २६ औं स्थापना दिवसको अवसरमा पत्रकारहरुलाई सम्मान एवं पुरस्कृत गर्न लागिएको हो ।

यसैक्रममा यस वर्षको प्रेस चौतारी योगदान पुरस्कार जेएन सागरलाई प्रदान गरिने भएको छ । बिहीबार घोराहीमा बसेको पुरस्कार छनौट समितिको बैठकले प्रेस चौतारी नेपाद दाङका पूर्व अध्यक्ष जेएनलाई योगदान पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

पुरस्कार छनौट समितिका संयोजक शरद अधिकारीको अध्यक्षतामा बसेको बैठकले प्रेस चौतारीका नेता संगीत बस्याललाई प्रेस चौतारी सम्मान गर्ने निर्णय गरेको हो ।

बैठकले चौतारी दाङका पूर्व अध्यक्ष दुर्गालाल केसी र सदस्य बिमला केसीले स्वर्गीय बुबा धनिराम केसीको स्मृतिमा स्थापना गर्नुभएको धनिराम स्मृति पत्रकारिता पुरस्कार नयाँ युगबोध दैनिकका समाचारदाता दशरथ घिमिरेलाई, प्रेस चौतारीका पूर्व केन्द्रीय सदस्य सरिता सुवेदीले स्वर्गीय हजुर बुबाको स्मृतिमा स्थापना गरेको हिमस्मृति शाहसिक पत्रकारिता पुरस्कार रेडियो मध्यपश्चिमका समाचार सम्पादक छवि पुरीलाई प्रदान गर्ने निर्णय गरेको हो ।

त्यसैगरी स्वर्गीय मदन केसीको स्मृतिमा परिवारले स्थापना गरेको मदन केसी आर्थिक पत्रकारिता पुरस्कार नयाँ युगबोध दैनिकका समाचारदाता सन्तोष खानाललाई र प्रेस चौतारी प्रतिभा पुरस्कार रेडियो हापुरेका सम्पादक रामप्रसाद सुवेदी, रेडियो प्रकृतिका चेतन वली, देउखुरी टुडेका लक्ष्मी पोखरेललाई प्रदान गरिने चौतारीका जिल्ला कार्यवाहक अध्यक्ष प्रेमबहादुर राम्जाले जानकारी दिएका छन् ।