बाँके। विश्व सिमसार दिवसका अवसरमा बाँकेस्थित राप्ती नदीमा दश वटा घडियाल गोही छाडिएको छ । बाँके राष्ट्रिय निकुञ्ज कार्यालयले शुक्रबार एक कार्यक्रमको आयोजना गरी राप्ती सोनारी गाउँपालिका १ स्थित राप्ती नदीको कुसुम बैरिया–भम्का जोड्ने घाटमा एउटा भालेसहित दश वटा गोही छाडिएको हो ।

नदीमा गोही छोड्दै लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री कृष्णा केसीले वातावरणीय सन्तुलन र जलवायु स्थिरता कायम राख्न घडियाल गोहीको भूमिका अतिनै महत्वपूर्ण हुने बताए । साथै उनले नदीमा छोडिएका गोहीको संरक्षणका उपाय खोजिनुपर्ने बताए ।

चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा रहेको गोही प्रजनन केन्द्रबाट ती गोही ल्याइएको थियो । बाँके राष्ट्रिय निकुञ्जले गत वर्ष पनि राप्ती नदीमा १० वटा घडियाल गोही छाडेको थियो ।