घोराहीस्थित सभ्यता पाठशालाले चलचित्र ‘काँडेतार’का निर्माता तथा नायक नवल खड्का र सोही चलचित्रका अर्का नायक प्रशान्त यादवलाई लिएर ‘हिरोसँग हामी’ कार्यक्रम गरेको छ । आफ्नो चलचित्र काँडेतारको विशेष प्रदर्शनीका लागि दाङ आएका नायकद्वयसँग यस्तो कार्यक्रम राखिएको हो ।

पाठशालाका अध्यक्ष महेन्द्र बुढाथोकीको अध्यक्षतामा भएको ‘हिरोसँग हामी’ कार्यक्रमका प्रमुख अतिथि नायक नवल खड्काले पाठशालाका विद्यार्थी भाइबहिनीहरुसँग छलफल गरेका थिए । नायक खड्काले आफ्नो अनुभव र अनुभूति सुनाउँदै विद्यार्थीहरुको जिम्मेवारीका बारेमा आफ्ना धारणाहरु राखेका थिए ।

प्रमुख अतिथि खड्काले पछिल्लो समय समाजमा संस्कार, संस्कृति र सभ्यता हराउँदै गएको चर्चा गर्दै सभ्यता पाठशालाले त्यसतर्फ ध्यान दिएकोमा प्रशन्नता व्यक्त गरे । उनले राष्ट्र र राष्ट्रियता प्राणभन्दा प्यारो भएको भन्दै जन्मभूमि र नेपालको सिमानाका सम्बन्धमा आफूले चलचित्र ‘काँडेतार’ निर्माण गरेको बताए ।

पाठशालाका शिक्षा संयोजक केशरमान बुढाथोकीले सञ्चालन गरेको सो कार्यक्रममा सानासाना विद्यार्थी भाइबहिनीहरुले विभिन्न जिज्ञासा राखेका थिए ।

त्यसअघि विद्यार्थीहरुले नायक खड्का र यादवलाई विद्यालय परिसरमा भव्य स्वागत गरेका थिए ।











