दाङ । रुसी सेनामा भर्ती भएका थप एक जना नेपालीको ज्यान गएको छ । रोजगारीका लागि घर छाडेर विदेश पुगेका प्युठान नगरपालिका ४ काठेवर निवासी २९ वर्षीय सोमेश सुनारको ज्यान गएको हो । रुसी-युक्रेन युद्धमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

सुरु -सुरुमा भारत आउजाउ गर्ने उनी भारतको कमाईले खर्च धान्न मुश्किल परेपछि कतार पुगे। करिब डेढ वर्षअघि कतार गएका उनी त्यतैबाट रुसी सेनामा गएर भर्ती भएका थिए।

छोराले कमाउला र केही सुख होला भनेर आशा रहेका बुबा भारतमै छोराको मृत्युको खबर सुनेपछि बिहीबार साँझ घर पुगेका छन्। सोमेशका श्रीमती र एक छोरा छन्।

वैधानिक रुपमा नेपालीहरुलाई रुसी सेनामा भर्ती हुन पाउने कानुनी व्यवस्था छैन । तर पनि देशमा केही सम्भावना नभएपछि रोजगारीको खोजीमा भौतारिदै विदेश पुगेका नेपालीहरु रुसी सेनामा गैरकानुनी रुपमा भर्ती हुन वाध्य छन् ।