आज पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्ती, पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको रुपमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । वि.सं. १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीको कोखबाट जन्मिएका पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा महत्त्वपूर्ण योगदान पुर्याएकाले उहाँको जन्मजयन्तीका दिन राष्ट्रिय एकता दिवस मनाउन थालिएको हो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा हुनुभएको थियो ।
त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार भएको थियो ।
पृथ्वीनारायणको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेका इतिहास छ । पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोटमा विजय हासिल गर्नुभएको थियो ।
उहाँका दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक छन् । पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
