टीकापुर । मोटरसाइकल दुर्घटना हुँदा अछामको पञ्चदेवल विनायक नगरपालिका १ कुइकाका खकेन्द्र ढकाल र उनकी श्रीमती मैसरा ढकालको ज्यान गएको छ ।

बुधवार साँझ कैलालीको मोहन्याल गाउँपालिका ७ मा पर्ने कुइने चिसापानी सडक खण्डको पितमारीमा दुर्घटना भएको हो । ढकाल दम्पती सवार भे १३ प १०७४ नम्बरको मोटरसाइकल सडकबाट दुई सय मिटर तल कर्णाली नदीमा खसेको थियो । उनीहरु अछामबाट बर्दियाको भुरीगाऊँ तर्फ आइरहेका थिए ।

बुधवार साँझ करिब सात बजेतिर नदीमा खसेका दुवै जनालाई मोटर बोट र र्याफ्टिङको सहायताले उद्धार गरिएको थियो । मृतकका शव टीकापुर अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।