
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई सजाय तोकेको छ । अदालतले लामिछानेलाई आठ वर्ष कैदसहित तीन लाख जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने आदेश दिएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले बुधबार सन्दीपविरुद्धको रिटमा उक्त सजाय सुनाएको हो ।
२०७९ सालको भदौ ६ गते राति लामिछानेले जबरजस्ती करणी गरेको भन्दै एक युवतीले गएको भदौ २१ गते गौशाला प्रहरी वृत्तमा किटानी जाहेरी दिएकी थिइन् । लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । २०७९ सालको कात्तिक १४ गते जिल्ला अदालत काठमाण्डौमा मुद्दा दर्ता भएकोमा आज फैसला भएको हो ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्ने फैसला गत पुस १३ गते गरेको थियो ।
यता काठमाडौँ जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गरेका सन्दीप उच्च अदालत जाने भएका छन् । क्रिकेटर लामिछानेको पक्षमा वकालत गर्दै आएका अधिवक्ता सरोजकृष्ण घिमिरेले कुनै पनि आधार, कारण र प्रमाणहरूले लामिछाने दोषी नदेखिएको जिकिर गर्दै न्यायका लागि उच्च अदालत जाने बताए ।
यस अघि पनि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालत पाटनले उनलाई छाडेको थियो । उच्चको आदेशलाई सर्वोच्चले सदर गरिदिएपछि लामिछाने थुनाबाहिरै बसेर मुद्दा लडिरहेका थिए ।










