काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले लिटिल बुद्ध भनेर चिनिने रामबहादुर बम्जनलाई सार्वजनिक गरेको छ।

मंगलबार बुढानीलकण्ठस्थित घरबाट पक्राउ परेका बम्जनलाई सिआइबीले बुधबार ब्युरोको महाराजगन्जस्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरेको हो।

बम्जनको साथबाट प्रहरीले नेपालीसहित १८ देशका मुद्रा बरामद गरेको छ। बम्जनको घरबाट तीन करोड तीन लाख ७५ हजार पाँच सय नेपाली रुपैयाँ र विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँबराबरको विदेशी मुद्रा बरामद भएको छ। उनीमाथि बाल यौन दूराचारको आरोप छ।