विश्वकै महान् खेलाडीहरू मध्ये एक मानिने  जमर्नीका लिजेन्ड फ्रान्ज बेकेनबाउरको ७८ वर्षको उमेरमा निधन भएको छ । खेलाडी र प्रशिक्षकका रूपमा विश्वकप जित्ने सीमित खेलाडीहरू मध्ये उनी एक हुन् ।

उनले सन् १९७४ मा पश्चिम जर्मनीको कप्तानी गर्दै विश्वकप जितेका थिए । त्यसपछि सन् १९९० मा प्रशिक्षकका रूपमा उनले पुनः विश्वकपको ट्रफी उचाले । उनीबाहेक यो उपलब्धि फ्रान्सका डिडिएर डेस्च्याम्प्स र ब्राजिलका मारियो जागालोले मात्र हासिल गर्न सफल भएका छन् । जागालोको गत हप्ता ९२ वर्षको उमेरमा निधन भएको थियो ।

डिफेन्डर र मिडफिल्डरका रूपमा मैदानमा उत्रने बेकेनबाउरले जर्मन महारथी बायर्न म्युनिखका लागि ५८२ खेल खेल्दै लिग उपाधि पनि जितेका थिए ।