सर्लाही । सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएपछि बरहथवा बजार क्षेत्रमा कर्फ्यु अदेश जारी भएको छ। नगर अस्पतालको विषयलाई लिएर भएको आन्दोलनमा एकजनाको मृत्यु भएपछि बरहथवा बजार क्षेत्रमा कर्फ्यु लगाइएको हो ।

अवस्था तनावग्रस्त बनेको भन्दै जिल्ला सुरक्षा समितिको आपतकालिन बैठकले बरहथवा बजार क्षेत्रमा शनिबार बिहान ८ बजे सम्मको लागि कर्फ्यु आदेश जारी गरेको हो। समितिले जारी गरेको आदेशमा पुर्वमा सीतापुर जाने बाटो ब्रम्हस्थान, पश्चिममा हजरीया जानेबाटो नहर, उत्तरमा सोती चोर्नीया पुल र दक्षिणमा हनुमान मन्दिरलाई चार किल्ला कायम गरेर कफ्र्यू आदेश जारी गरेको छ ।

यो क्षेत्रभित्र आवतजावत गर्न, भेला गर्न, हिँडडुल गर्न, कुनै पनि प्रकारको उच्छिृङ्खल गतिविधि गर्न, नपाउने गरी शुक्रवार साझ ५ः३० बजेदेखी शनिवार बिहान ८ बजे सम्मको लागि कफ्र्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिएका छन्।