सर्लाही । सर्लाहीको बरहथवामा शुक्रबार दिउँसो प्रहरीले गोली चलाएको छ । गोली लागेर एक जनाको मृत्यु भएको छ ।
बरहथवा नगरपालिका–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेस, जनमत, जसपासहितका दलले गरेको प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रहरीले गोली चलाएको जनाएको छ ।
गोली लागी सोही वडाका जयशंकर साहको मृत्यु भएको छ । तर प्रहरीले अहिलेसम्म त्यसको पुष्टि गरेको छैन । उनी आन्दोलनकारी नभएर सडकमा हिँडिरहेको बटुवा रहेको आन्दोलनकारीको दाबी छ ।
आन्दोलनकारीबाट नगरपालिका कार्यालय तथा नगरप्रमुख कल्पनाकुमारी कटुवालको निजी घरमा ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो ।











