काठमाडौँ । लामो समयदेखि टाढिएका नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली केही दिनदेखि नजिक छन् । उनीहरुले एक आपसको तिक्तता घटाउने प्रयास गरिरहेका छन् । दाहाल र ओलीबीच सम्बन्ध विस्तार गर्न भेटवार्ता जारी छन् । दुई नेताबीच मंगलबार एक्लाएक्लै र बुधबार कांग्रेस सभापति शेरबहादुर देउवासहित छलफल भएको छ ।
भेटपछि राष्ट्रिय सभामा एमालेलाई समेट्न गठबन्धन सकारात्मक देखिएको छ । यसअघि राष्ट्रिय सभामा गठबन्धनबीच सिट बाँडफाँट गर्ने तयारी भइरहेका बेला एमालेलाई पनि समेट्ने भनाइ सार्वजनिक भएको थियो । राष्ट्रिय सभामा एमालेलाई समेट्ने प्रस्ताव आउनुका पछाडि ओली र दाहालको भेटवार्ताले काम गरेको नेताहरूको दावी छ ।
तर सत्तागठबन्धनले राष्ट्रिय सभाको सिट बाँडफाँटमा एमालेको ठोस प्रस्ताव पर्खिने भएको छ । एमालेलाई समेत समेटेर लैजानेबारे छलफल अघि बढेसँगै गठबन्धनले एमालेको प्रस्ताव हेरेर अघि बढ्ने नीति लिएको हो । गठबन्धनले सङ्क्रमणकालीन न्याय सम्बन्धी (टीआरसी) विधेयक सहमतिमा पारित गर्ने प्रयास स्वरुप एमालेले यसमा साथ दिए राष्ट्रियसभाको भागबण्डामा एमालेलाई पनि सामेल गराउने तयारीमा छ ।
