पोखरा । ‘हनी ट्र्याप’ अर्थात प्रेम जाल । पछिल्लो समयमा यो मौलाउदै गएको छ । ‘हनी ट्र्याप’ मा पारेर कतिले लाखौको लाभ लिएको देखिएको छ त कतिले यसकै प्रयोग गरी व्यक्ति हत्या जस्ता जघन्य अपराध गरेको पाइन्छ । पोखरामा पनि ‘हनी ट्र्याप’ मार्फत यस्तै रकम लाभ लिएको पाइयो । नक्कली फेसबुक आइडी बनाएर युवाहरुलाई ‘हनी ट्र्याप’मा पारेर ठगी गर्ने तीन प्रहरीले पक्राउ गर्यो ।

पक्राउ पर्नेमा पोखरा २९ तालचोकमा बस्ने २२ वर्षका अनुराग घिमिरे, चितवन रत्ननगर १३ का २० वर्षीय प्रवेश रिमाल र लहान नगरपालिका १ का २१ वर्षीय युनिक सिंह छन् । उनीहरुले केटीको नामको आइडी बनाएर पुरुषहरुलाई हनी ट्र्यापमा पारेर गठी गरेको प्रहरीले जनाएको छ । सुरुमा साथी बनाएर फोन गर्ने र त्यसपछि अश्लील भिडियोहरू देखाउने तथा स्क्रिन रेकर्ड गर्ने गरेका थिए । सोही रेकर्ड भएको स्क्रिनलाई उनीहरुले सामाजिक सञ्जालमा पोस्ट गरिदिन्छु भनेर डर धम्की दिएर पैसा असुल्ने गरेको कास्की प्रहरीले जनाएको छ ।

उनीहरुलाई चितवन प्रहरीको सहयोगमा पक्राउ गरेर पोखरा ल्याइएको हो । तीनैजनालाई आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सर्सन) सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको कास्की प्रहरीका प्रबक्ता डीएसपी श्रवणकुमार विकले बताए ।