दाङ । माघी पर्व आउन अझैं आधा महिना छ । अर्थात अहिले पुस महिनाको आधा मात्रै वितेको छ । तर थारु समुदायमा वर्षदिनमा एक पटक आउने माघी पर्वको रमझम शुरु भइसकेको छ । यस वर्षको माघी कसरी बनाउने योजना मनाउन थालिसकेको छन् यहाँका थारु समुदाय ।
माघी नजिकिदै गर्दा यता थारु कल्याणकारिणी सभा दाङ देउखुरीले घोराहीमा बृहत् माघी महोत्सव गर्नै तयारीमा जुटेको छ । थारु समुदायको मौलिक कला, संस्कृति विकास गर्नमा थप सहयोग पुग्ने उद्देश्यले माघ महोत्सवको आयोजना हुन लागेको थारु कल्याणकारिणी सभा जनाएको छ ।
माघीका अवसरमा यही पुस २० र २१ गते माघ महोत्सव गर्न थालिएको थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष अशोक चौधरीले जानकारी दिए । थारु समुदायको संस्कार र संस्कृति बोकेको महान् पर्वका अवसरमा माघ महोत्सव गर्न लागिएको हो । दुई दिनसम्म लाग्ने महोत्सवलाई भव्य र सभ्य बनाउनका लागि अध्यक्ष अशोक चौधरीको संयोजकत्वमा ५१ सदस्यीय महोत्सव मूल आयोजक समिति बनाइएको छ ।
दीपकनारायण चौधरीको संयोजकत्वमा आर्थिक उपसमिति बनाइएको छ । समितिका सदस्यमा शोभाराम चौधरी, अनिल चौधरी, अर्नब चौधरी, रामपति चौधरी र नगेन्द्र चौधरीलाई जिम्मेवारी दिइएको छ । त्यस्तै सन्तोष दहितको संयोजकत्वमा पाँच सदस्यीय प्रचार–प्रसार समिति बनाइएको छ । जसको सदस्यमा सवि थारु, श्रीनारायण चौधरी, आरएम जगत् कुसुम्यालाई जिम्मेवारी दिइएको छ ।
जिल्ला समन्वय समितिको परिसरमा महोत्सव सञ्चालन गरिने छ । माघ महोत्सवमा दाङका सबै स्थानीय तहका मघौटा नाचलगायतका अन्य थारु नाच देखाउने कार्यक्रम आयोजकले जानकारी दिएका छन् । महोत्सवमा थारु परिकार, तथा थारु समुदायका हस्तकला, थारु वेशभूषालगायतका सामग्री प्रदर्शनीमा राखिने थारु कल्याणकारी सभाका सहसचिव श्रीप्रसाद चौधरीले बताए ।











