दाङ । लुम्बिनी प्रदेश सरकारले यो आर्थिक वर्षको पाँच महिनामा जम्मा नौ प्रतिशत मात्रै विकास बजेट खर्च गरेको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ को मंसिर मसान्तसम्म ९ दशमलव ३ प्रतिशत पूँजीगत बजेट खर्च भएको हो ।
पूँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख एक हजार बजेट रहेकोमा दुई अर्ब नौ करोड ९९ लाख १७ हजार एक सय ५० रुपैयाँ २७ पैसा खर्च भएको छ । मंसिर मसान्तसम्म पाँच महिनाको अवधिमा चालुतर्फ १८ दशमलव ०६ प्रतिशत बजेट खर्च भएको छ ।
चालुतर्फ १७ अर्ब २२ करोड २७ लाख ९९ हजार बजेट रहेकोमा तीन अर्ब १० करोड ९५ लाख ९७ हजार आठ सय २१ रुपैयाँ ४९ पैसा खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । प्रदेश सरकारको चालु आर्थिक वर्षका लागि ४० अर्ब ४७ करोड ९७ लाखको बजेट रहेको छ ।
