रुकुम । रुकुमपश्चिममा स्यार्पू जलविद्युत आयोजना निर्माण हुने भएको छ । स्यार्पू जलविद्युत आयोजनाको आज शिलान्यास गरिएको छ । पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले जिल्लाको बाँफिकोट गाउँपालिका –३ भाग्लेमा स्यार्पू जलविद्युत आयोजनाको शिलान्यास गरेका हुन् ।

स्थानीय तहको समेत लगानी रहेको उक्त आयोजनाको शिलान्यास गर्दै पूर्वमन्त्री शर्माले जलविद्युतमार्फत समृद्धि हाँसिल गर्न सकिने बताए । उनले जलविद्युतमार्फत जनतालाई धनी बनाउने सोच बनाएकाले बिद्युत आयोजनामा जनताको शेयर सुनिश्चित गरिने बताए ।

स्यार्पू पावर कम्पनीद्वारा निर्माण हुन लागेको यो आयोजना ३ दशमलव ३ मेगावाट क्षमताको रहनेछ । जिल्लाका छ वटै स्थानीय तहको स्वामित्वमा रहने यो आयोजनालाई एक वर्षमा निर्माण सक्ने लक्ष्य राखिएको छ । स्यार्पू तालबाट निस्किने तिल्चा खोलाबाट जलविद्युत उत्पादन गर्नेगरी आयोजनाको डीपीआर, वातावरणीय प्रभाव मूल्याङ्कन, जग्गा अधिग्रहण, लगानी सुनिश्चित, बिद्युत खरिदको सम्झौतालगायतको तयारी सम्पन्न गरेर आयोजनाको शिलान्यास गरिएको छ ।

कम्पनीका कार्यकारी निर्देशक प्रदीप ओलीका अनुसार कुल ५७ करोड लागतमा आयोजना निर्माणका काम सुरु भएको छ । कुल लागतमध्ये ५४ प्रतिशत रुकुमपश्चिमका छ वटा स्थानीय तह, १ प्रतिशत अर्थ मन्त्रालय र बाँकी ४५ प्रतिशत स्थानीय तथा अन्य नागरिकको शेयर लगानी रहने कार्यकारी निर्देशक ओलीले जानकारी दिए ।