दाङ । रुस र युक्रेन बीचको युद्धमा दाङका एक युवक घाइते भएका छन् । उनी रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्धको लडाइँमा घाइते भएको बताइएको छ ।

तुलसीपुरका ३७ वर्षीय रामचन्द्र खड्का तीन महिनाअघि ७ लाख रुपैयाँ खर्चेर भारतको नयाँदिल्ली, हैदराबाद हुँदै दुबईबाट रुस पुगेका थिए । खड्का लडाइँका क्रममा युक्रेनको बागमोथमा बम आक्रमणमा परी घाइते भएका थिए । उनको उपचार भइरहेको खुलेको छ ।

रुकुमको खारा मूल घर भएका खड्का २०६८ सालमा रुकुमबाट दाङ झरेका थिए । खड्का पढाइ छोडेर तत्कालीन माओवादी लडाकुमा कम्पनी कमान्डरसम्म भएका थिए । शान्ति प्रक्रियापछि रोजगारीको खोजीमा अफगानिस्तान पुगेका खड्का त्यहाँ नेटो सेनाको सहयोगी भएर दुई वर्षभन्दा बढी काम गरेका थिए ।

वैधानिक रुपमा नेपालीलाई रुसी सेनामा भर्ती हुने व्यवस्था छैन । तर पनि बाध्यताले रोजगारी खोज्दै गएका नेपालीहरु रुसी सेनामा भर्ती हुने गरेका छन् । हालसम्म अवैधानिक रुपमै २०० बढी नेपाली रुसी सेनामा भर्ती भएको जानकारीमा आएको प्रधानमन्त्री पुष्पकमल दाहालले नै बताएका छन् ।