दाङ । दाङको लमही नगरपालिका–२ बटकहवास्थित राप्ती नदीबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको ट्याक्टर नियन्त्रण गर्दा लमही नगरपालिकाका नगर प्रहरी छवि चौधरी, विनोद शर्मा र चालक मेघराज गिरीमाथि हातपात भएको छ ।
राप्तीबाट आइतबार राति ८ बजेको समयमा बालुवा चोरी गर्दै गरेको रा १ त ४४३४ नम्बरको ट्याक्टरलाई नियन्त्रण गर्न खोज्दा हातपात भएको लमही नगरपालिका १ का अध्यक्ष दामोदर पौडेलले बताए । “रातीको समयमा राप्ती नदीबाट अवैध रूपमा नदीजन्य पदार्थको चोरी हुँदैछ भन्ने गोप्य सूचनाका आधारमा खटिएको नगर प्रहरी र चालकमाथि आक्रमण भएको छ”, उनले भने ।
हातपात गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । नगर प्रहरी चालकमाथि हातपात गर्नेलाई पक्राउ गरेर अभद्र व्यवहार गरेको आरोपमा मुद्धा चलाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए । पक्राउ पर्नेमा गढवा गाउँपालिका–५ का मनिराम चौधरी, सन्दीप चौधरी, संजिप चौधरी र नीरज चौधरी छन् ।
ट्याक्टरमा बालुवा लोड गरी लैजान लागेको अवस्थामा हातपात गरेर ट्याक्टर छोडेर चालक र बालुवा लोड गर्ने मजदुर भागेपछि नगरपालिकाको प्रहरी टोलीले नियन्त्रण लिएको थियो ।