दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाले आगामी पुस ४ गते पर्ने ३१ औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाउने भएको छ ।
महासंघको आइतवार बसेको बैठकले स्थापना दिवसको अवसरमा हुने विविध कार्यक्रमका लागि विभिन्न समिति पनि गठन गरेको छ । महासंघले दिवसको अवसरमा पुस १ गते रक्तदान कार्यक्रम, २ गते खेलकुद कार्यक्रम, ३ गते जेष्ठ पत्रकारहरुसँग भेटघाट एवं अनुभव आदानप्रदान कार्यक्रम र ४ गते शुभकामना आदानप्रदान कार्यक्रम गर्ने निर्णय गरेको हो ।
महासंघ शाखा अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा बसेको बैठकले दिवसका अवसरमा हुने कार्यक्रम व्यवस्थापनका लागि सचिव आर.के.शीतल संयोजक, सहसचिवहरु दशरथ घिमीरे र दिप्तीशीखा चौधरी सदस्य रहेको कार्यक्रम व्यवस्थापन समिति, कार्यसमिति सदस्य उदय बीसी संयोजक, जिवन नेपाली र गिरिराज नेपाली सदस्य रहेको मञ्च व्यवस्थापन समिति, दिप्तीशीखा चौधरी संयोजक अञ्जना चौधरी, यमकला भुषाल र उमा भण्डारी सदस्य रहेको फुलमाला व्यवस्थापन तथा अतिथि सत्कार समिति गठन गरेको छ ।
त्यसैगरी रक्तदान कार्यक्रम संयोजनका लागि सदस्य गिरिराज नेपाली र खेलकुद कार्यक्रमको संयोजनका लागि सदस्य कुलदीप न्यौपानेलाई जिम्मेवारी दिइएको छ । स्थापना दिवसको अवसरमा पत्रकार महासंघ दाङको कार्यसमिति बैठकमा सर्वाधिक उपस्थित हुने एक जना सदस्यलाई सम्मान गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले नेपाल पत्रकार महासंघ केन्द्रिय समितिसँगको सहकार्यमा पुस ५ र ६ गते फ्रि मिडिया नेटवर्कको बैठक र भ्रामक समाचारको दुरुपयोग नियन्त्रण सम्बन्धी अन्तरक्र्रिया कार्यक्रम आयोजना गर्ने, दाङको समग्र विकासका लागि दाङ जिल्ला उद्योग वाणिज्य संघको अगुवाईमा गठन भएको ‘दाङ–देउखुरी विकास सरोकार मञ्च’मा नेपाल पत्रकार महासंघ दाङको तर्फबाट निवर्तमान अध्यक्ष एवं सल्लाहकार सविन प्रियासनलाई प्रतिनिधि पठाउने निर्णय भएको सचिव आर.के.शीतलले जानकारी दिए ।
बैठकले नेपाल पत्रकार महासंघ दाङका सदस्य प्रेमबहादुर राम्जा मिति २०८० कार्तिक १७ गते बबई गाउपालिका ७ मलै खोलाबाट घर फर्कने क्रममा सवारी दुर्घटना परी घाइते भएकाले उनको उपचारका लागि पत्रकार राहत कोषबाट १० हजार रुपैया सहयोग गर्ने निर्णय गरेको छ ।
