उदयपुर । आफ्नो श्रीमानको हत्या गरेको अभियोगमा प्रहरीले श्रीमतीलाई पक्राउ गरेको छ । ६० वर्षीय श्याम कुमार राईको हत्या गरेको अभियोगमा त्रियुगा नगरपालिका–५ दमौटी सुक्लाई बस्ने ४० वर्षीया निर कुमारी रैनीलाई मङ्गलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादका कारण निर कुमारीले श्रीमान् श्यामको घाँटी थिची हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । श्याम गत शनिबार साँझदेखि हराई बेपत्ता थिए ।

प्रहरीका अनुसार बेपत्ता भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले खोजी तथा अनुसन्धान गर्ने क्रममा निर कुमारीले श्यामको घाँटी थिची हत्या गरेको खुलेको हो । निर कुमारीले हत्या गरी घर नजिकै जङ्गलमा माटोले पुरी स्याउलाले छोपिएर राखेको अवस्थामा श्यामको शव फेला परेको थियो ।