काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नेकपाका महासचिव नेत्रविक्रम चन्द “विप्लव” सहित पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा, नेता माइला लामा र राजु कार्कीलाई पक्राउ पुर्जी जारी गरेको छ । अदालतले सोमवार सरकारको मुखपत्र गोरखापत्रमा सार्वजनिक सूचना निकाली ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो ।

‘उपरान्त वादी नेपाल सरकार प्रतिवादी हेमन्त प्रकाश ओली भएको राज्यविरुद्धको कसुर मुद्दा मिति २०७६/०६/०९ मा दायर भई मिति २०८०/०८/१० को आदेशअनुसार तपाईंका नाउँमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५८ (१३) बमोजिम प्रस्तुत ३५ दिने पक्राउ पुर्जीको सूचना प्रकाशित गरिएको,’ उल्लेख छ, ‘यो पक्राउ पुर्जीको सूचना प्रकाशित भएका मितिले बाटोका म्यादबाहेक ३५ दिनभित्र आफूसँग भएको सबुद प्रमाणसहित तपाईं आफैं उपस्थित हुनुहोला । तपाईंहरूले म्याद गुजारी बसेमा मुद्दा कानुनबमोजिम हुनेछ । पछि तपाईंको उजुरवाजुर लाग्ने छैन ।’

काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेकै दिन तत्कालीन नेकपाका नेता (हाल क्रान्तिकारी माओवादी) मा आबद्ध हेमन्तप्रकाश ओलीले सोमबार ललितपुर जिल्ला अदालतमा तारिख लिएका छन् । उनलाई राज्यविरुद्धको कसुर मुद्दामा प्रतिवादी बनाइएको छ । उनी २०७५ चैतमा पक्राउ परी २०७८ साउनमा रिहा भएका थिए । त्यतिबेला चन्द, विश्वकर्मालगायतका नेता फरारको सूचीमा थिए ।