काठमाडौँ, । नेपालमा यो वर्षको हिउँदे वर्षासँगै हिउँदयाम शुरु भएको छ । आइतबार रातिदेखि पश्चिमी वायु सक्रिय भएर देशका विभिन्न स्थानमा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाले वर्षासँगै उच्च हिमाली भेगमा हिमपात सुरु भएको जनाएको छ । सो हिमपातसँगै देशव्यापी रूपमा चिसो बढेको छ ।
अधिकतम र न्यूनतम तापक्रम दुवैमा गिरावट आउँदा हिमाली र पहाडी भेगमा बढी जाडो महसुस भएको छ । मधेश र तराई भेगमा हुस्सु कुहिरोसँगै शीतलहर शुरु भएको महाशाखाले जनाएको छ । मौसमविद् रोजिन श्रेष्ठले अनुसार पश्चिमी वायु बढी सक्रिय रहेको नेपालको गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा आइतबार रातिदेखि नै हल्का वर्षा भइरहेको छ ।
उच्च हिमाली भेगको रारा क्षेत्र, जुम्ला, हुम्ला, मुस्ताङलगायतका स्थानमा लगातार हिमपात भइरहेको छ । उच्च पहाडी र हिमाली भेगका गण्डकी, कर्णाली, सुदूरपश्चिममा चिसो एक्कासि बढ्दा जनजीवन प्रभावित बनेको छ । गण्डकी प्रदेशको जोमसोममा दुई दिनयता सबैभन्दा कम तापक्रम रेकर्ड भएको छ ।
