काठमाडौँ । इजरायल र हमासबीच केही दिन अघि गरिएको चार दिने युद्धविरामलाई थप २ दिन लम्ब्याउने सहमति भएको छ । इजरायल र हमासबीचको संवादका लागि मध्यस्थता गरिरहेको कतारले दुई पक्ष थप दुई दिन युद्धविराम लम्ब्याउन सहमत भएको जानकारी दिएको हो ।
सहमति भएसँगै इजरायलले थप ३३ जना र हमासले ११ जना बन्दी छाडेको कतारी विदेशमन्त्री डा. मजिद बिन मोहम्मद अल अन्सारीले जानकारी दिएका छन् । हमासले छाडेका ११ जनामा तीन फ्रान्सेली, दुई जर्मन र ६ अर्जेन्टिनी नागरिक रहेका छन् ।
अहिलेसम्म हमासले ६९ जना बन्धक छाडेको छ । त्यस्तै इजरायलले १५० जना प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ । अक्टोबर ७ मा हमासले इजरायली भूमिमा आक्रमण गरी विभिन्न देशका गरी करिब २५० जनालाई बन्धक बनाएको थियो । एजेन्सी