दाङ । दाङको घोराहीमा व्यावसायिक रूपमा स्ट्रबेरी खेती सुरु गरिएको छ । घोराही उपमहानगरपालिका–१४, झिङ्गौरामा करिब नौ कट्ठा जग्गामा व्यावसायिक स्ट्रबेरी खेती गरिएको हो ।

रोल्पा र म्याग्दी जिल्ला निवासी दुई जना युवा मिलेर दाङको घोराहीस्थित झिङ्गौरामा रहेको स्वर्गद्वारी आश्रमको जग्गा लिजमा लिएर व्यावसायिक स्ट्रबेरी खेती गरेका हुन्

कृषिमा आइएस्सी एजी अध्ययन गरेका वीरेन्द्र खड्काले आफ्नै ठाउँमा केही फरक खाले कृषि व्यवसाय गर्नु पर्छ भन्ने उद्देश्यले करिब तीन वर्षअघिबाट दाङ एग्रोमार्ट कृषि फार्म स्थापना गरेर पुष्प व्यवसायसँगै यस वर्षदेखि स्ट्रबेरी खेती सुरु गरेको बताए ।

“कृषिसम्बन्धी अध्ययन गरेको र आफ्नै ठाउँमा केही गर्नु पर्छ भन्ने उद्देश्य अनुसार पाँच वर्षअघि कृषि फार्म स्थापना गरेर पुष्प व्यवसाय गर्दै आएका थियौँ “, खड्काले भने, “यो वर्षबाट दाङमा व्यावसायिक स्ट्रबेरी पनि सुरु गरेका छौँ ।” नौ कट्ठा जग्गामा करिब आठ लाख बराबरको १० हजार पाँच स्ट्रबेरीको बिरुवा रोपेको बताए ।

स्ट्रबेरीका लागि उपयुक्त हावापानी र माटो भएकाले खेती गरेको भन्दै उहाँले जिल्लामा उत्पादन भएको स्ट्रबेरी घोराही, तुलसीपुरलगायतका बजारसँगै माग अनुसार जिल्लाबाहिर पनि पठाउने तयारी रहेको उनले बताए ।