काठमाडौँ । तिहारको मुख्य दिन आज भाइटीका । नेपाल पञ्चांग निर्णायक समितिका अनुसार यस वर्ष भाइटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा परेको छ ।

दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर आज भाइटीका पर्व मनाइँदैछ ।

भाइटीका लगाउने र लगाइदिने व्यक्ति कुन दिशामा फर्किने भन्ने कुराको पनि ख्याल गर्नुपर्छ । टीका थाप्न बस्ने व्यक्तिले चन्द्रमालाई सम्मुख वा दायाँ तिर पार्नुपर्छ ।

यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र लगाइमाग्ने दाजुभाइ पूर्व फर्कनुपर्ने पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईले बताए ।

यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्ने भएकाले दिदीबहिनी पश्चिम र दाजुभाइ पूर्व फर्किनुपर्ने उनको भनाइ छ । हरेक शुभकर्ममा चन्द्रमालाई अगाडि वा दायाँ पार्नुपर्ने शास्त्रीय नियम छ ।