दाङ । घोराही उपमहानगरपालिका अन्तर्गतको न्यायिक समितिले चालु आर्थिक वर्षको त्रैमासिक प्रगत सार्वजनिक गरेको छ । समितिले चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा विभिन्न प्रकृतिका ७४ वटा उजुरी दर्ता भएको र त्यसमध्ये २९ वटा मेलमिलाप भएको जनाएको छ ।
समितिले आज पत्रकार सम्मेलनको आयोजना गरी पहिलो त्रैमासिकमा न्यायिक समितिले ३९ प्रतिशत उजुरीहरु मेलमिलाप गर्न सफल भएको बताएको छ । चालु आर्थिक वर्षको साउनदेखि असोजसम्ममा विभिन्न प्रकृतिका २९ वटा उजुरीमा मेलमिलाप गरेको समितिकी संयोजक एवं उपमहानगरपालिकाकी उपमयेर हुमा डिसीले जानकारी दिइन् । उनका अनुसार गएको आर्थिक वर्षबाट जम्मेवारी सरेर आएका ३३ मध्ये १७ वटा मेलमिलाप भएका छन् । अब ७४ मध्ये ४५ वटा फछयौंट हुन बाँकी रहेका छन् ।
न्यायिक समितिमा ज्याल मजदुरी नदिएको, जेष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको, आलीधुर, बाँध, कुलोपानी बाँडफाँट तथा उपयोग, नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्यत आमद अनुसार खाना लगाउन वा शिक्षा दिक्षा नदिएकोलगायतका उजुरीहरु आउने गरेका छन् । पत्रकार सम्मेलनमा मेयर नारुलाल चौधरीले उपमहानगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार न्यायिक समितिको क्षेत्राधिकारभित्र पर्ने उजुरीहरुमा मेलमिलाप गर्दै आएको र यसले समाजमा भएका समस्यालाई मेलमिलापको माध्यमबाट समाधान गर्दै समाज संमृद्धितर्फ लैजाने बताए । कार्यक्रमको समजीकरण प्रतला देवकोटाले गरेकी थिइन् ।











