रुकुम पश्चिम । गएको मध्यराति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमका गरी १२८ जनाको ज्यान गएको छ । भूकम्पमा परी जाजरकोटमा मात्र जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहसहित ९२ जनाको मृत्यु भएको छ भने रुकुम पश्चिममा ३६ जनाको मृत्युको ज्यान गएको छ ।
अहिलेसम्मको तथ्यांक अनुसार जाजरकोटमा मात्र ९२ ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोकाले जानकारी दिएका छन् । ज्यान गुमाउनेहरूमा भेरी नगरपालिकाका, नलगाड नगरपालिकाका, कुशे गउँपालिका र छेडागाड नगरपालिकाका रहेका छन् । त्यस्तै अहिलेसम्म भूकम्पमा परी कम्तीमा ५५ जना घाइते भएको विवरण प्राप्त भएको डीएसपी रोकाले बताए ।
त्यस्तै रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ । जाजरकोटसँग जोडिएका आठबीसकोट नगरपालिकामा ३६ जना र सानीभेरी गाउँपालिकामा ८ जनाको ज्यान गएको भट्टराईले बताए । रुकुम पश्चिममा भूकम्पमा परी ८५ जना घाइते भएका छन् । घाइतेहरुको उद्धारको काम भइरहेको त्यहाँका सुरक्षा निकायहरुले बताएका छन् ।











