काठमाडौं । नेपालको राष्ट्रिय मानव अधिकार आयोगको श्रेणी ‘क’ नै कायम राखिएको छ । नियुक्ति अपारदर्शी भएपछि घटुवा सिफारिसमा परेको आयोगलाई जेनेभास्थित राष्ट्रिय मानव अधिकार संस्थाहरूको अन्तर्राष्ट्रिय सञ्जाल (गानरी) ले नेपालको आयोगलाई ‘क’ श्रेणीमा राख्ने निर्णय गरेको हो ।

आयोगका प्रवक्ता एवं सहसचिव डा।. टीकाराम पोखरेलले बुधबार गानरीबाट ‘क’ श्रेणीमै राख्ने निर्णय भएको पत्र प्राप्त भएको बताए । ‘गानरीले सोधेको स्पष्टीकरणमा हामीले पठाएको जवाफ गानरीले चित्त बुझायो,’ उनले भने, ‘पेरिस सिद्धान्तअनुसार काम गर्छौँ भन्ने आयोगको प्रतिबद्धता र आयोगसम्बन्धी कानुन संशोधनमा सरकारको सकारात्मकताको प्रशंसा गर्दै गानरीले हामीलाई ‘क’ श्रेणीमै राख्ने निर्णय गरेको पत्र पठाएको छ, यो खुसीको कुरा हो । ’

आयोगका पदाधिकारीको नियुक्ति अपारदर्शी भएको भन्दै एक वर्षअघि ९गानरी०को स्तर निर्धारणसम्बन्धी उपसमितिले नेपालको आयोगलाई ‘ख’ श्रेणीमा घटुवा गर्न सिफारिस गरेको थियो । २१ वर्षदेखि ‘क’ श्रेणीमा रहेको आयोग ‘ख’ श्रेणीमा सिफारिस भएपछि अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि धमिलिएको भन्दै नेपालका मानव अधिकारकर्मीले चिन्ता व्यक्त गरेका थिए ।