काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले समोवार दिउँसो राष्ट्रपति कार्यालय शितल निवास अगाडि विरोध प्रदर्शन गरेको छ ।
संविधानको धारा २७६ मा निहित राष्ट्रपतिले सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग रोक्न र कैद माफी गर्दा तलदेखि माथिसम्म भएको सम्भावित आर्थिक चलखेलबारे गहिरो छानबिन गर्न माग गर्दै प्रदर्शन गरेको हो ।
विरोध प्रदर्शनमा शान्तिवादीहरुले विभिन्न नारा लगाएका थिए । राष्ट्रपति महोदय न्यायको सार्वभौम मान्यता विपरीत माफी मिनाहाको घोषणा किन ?, लोकतान्त्रिक गणतन्त्रप्रति आस्था बढाउने कि वितृष्णा फैलाउने ?, कैद माफी मिनाहाको नाममा राज्यबाट भइरहेको अपराधको पर्दाफास गरौँ, हत्या हिंसा महिमामंडन गर्न पाइदैँन, हत्या लगायत जघन्य अपराधमा कैद माफी मिनाहा हुन सक्दैन लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।
विरोध प्रदर्शनका क्रममा प्रहरीले सहभागीहरुमध्येबाट शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, महासचिव रेनुका पौडेल, कोषाध्यक्ष किरण ढकाल, सचिव चन्द्रमणी बञ्जारा, केन्द्रीय सदस्य दिवाकर पुडासैनी, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी, अधिकारकर्मीहरु रिता अधिकारी, मधु पुडासैनी, लक्ष्मण पुडासैनीसहित ११ जनालाई गिरफ्तार गरेको छ ।











