केशरमान बुढाथोकी

दाङ,२१ असोज  । शनिबार दाङको दंगीशरण गाउँपालिका ३ हेकुलीका ५२ वर्षीय निमबहादुर डाँगी घरको काम काज गर्दैथिए दिउँसो ११ बजे तिर इजराइलबाट छोरा २२ वर्षीय प्रविण डाँगीको फोन आयो बुबा मेरो खुट्टा गोलीले छियाछिया बनाएको छ ।

उच्च शिक्षा हाँसिल गरेर सुन्दर भविष्य बनाउने सुनौला सपना देखेर इजराइल गएको छोराले हतार हतासमा   अत्तालिदै आफूलाई गोली लागेको खबर गर्न बित्तिकै निमबहादुरको होशहवास उड्यो । छोराको खुट्टा गोलीले छियाछिया पारेको खबरले उनको मन छियाछिया भयो ।

यो फोन सपनामा हो कि बिपनानै एकछिन त उनले केहि मेसो पाउन सकेनन । केहि समय पछी सामाजिक संजालाहरुमा खबर ओइरियो प्यालेस्टाइनको लडाकू समूह हमासले आक्रमण गर्दा नेपाली विद्यार्थीहरु पनि परे । अनि डाँगीको परिवार स्तब्ध भयो ।  गाउँ नै शोकमग्न भयो ।

गएको भद्र २६ गते बीएस्सी एजी पढेर थप प्रयोगात्मक अध्ययनका लागि कलेजका साथीहरु सँग इजरायल गएका थिए, प्रवीण ।

प्रयोगात्मक कक्षाका लागि इजरायल गएका छोराले आक्रमणमा आफूलाई पनि गोलि लागेको र बताउदै बाबु लगायत परिवारका सदस्य संग झण्डै ३३ मिनेट भएको कुराकानीमा भने –”मेरो दुईवटा खुट्टामा नै गोलि लागेको छ ।  म मर्ने भए बुबा ।  यदि बाँचिएछ भने भेटौला नत्र यति नै रहेछ जिन्दगी ।”

अवरुद्ध गलाले छोराले यसो भनिरहँदा परिवारमा सन्नाटा छायो । अनि आइतबार बिहान १२ बजे तिर फेरी छोराले अस्पतालको शैयाबाट फोन गरेर गोलीले छियाछिया भएको आफ्नो खुट्टा बुबालाई देखाउन खोजे यतिकैमा अस्पतालमा नर्स आइन त्यसपछि उनीहरुको सम्पर्क टुट्यो ।

अहिले छोरा संग सम्पर्क हुने आशामा बेचैन छ डाँगी परिवार । आफ्नो छोराको वास्तविक अवस्था के हो ? पत्ता लगाएर तत्काल सम्पर्कमा ल्याइदिन नेपाल सरकार संग आग्रह गर्दै सकारात्मक संदेश आउने आशामा बसेको छ डाँगी परिवार ।