काठमाडौँ । सरकारले ल्याउन लागेको शिक्षा विधेयकमा असन्तुष्टि जनाउदै आन्दोलनमा उत्रिएका शिक्षकहरुले सरकार र नेपाल शिक्षक महासंघबीच शुक्रबार भएको सहमतिपछि आन्दोलन फिर्ता लिए । तर सोही आन्दोलनमा साथ दिएका राहत शिक्षकले भने सहमतिमा असन्तुष्टि जनाउदै आन्दोलन जारी राखेका छन् ।

सरकारसँग ६ बुँदे सहमतिपछि महासंघले शुक्रबार राति नै आन्दोलनको कार्यक्रम अन्त्य गर्दै पठनपाठनका लागि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । तर नेपाल राहत शिक्षक केन्द्रीय समितिमा आबद्ध शिक्षकहरूले शनिबार पनि काठमाडौंमा प्रदर्शन गरे । राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले माग पूरा नभएसम्म विद्यालय नफर्कने र काठमाडौंमै आन्दोलन जारी राख्ने चेतावनी दिए । देशभर ४० हजार राहत शिक्षक कार्यरत रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।

शिक्षक महासंघले राहत, साबिक उमावि, अस्थायीरकरार, शिक्षण सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धारलगायत अस्थायी रूपमा कार्यरत शिक्षकलाई दरबन्दी कायम गरी शतप्रतिशतलाई आन्तरिक प्रतिस्पर्धाका आधारमा स्थायी हुने सुनिश्चित गर्नुपर्ने माग अघि सारेको थियो । सरकारसँग भएको सहमतिमा यस्ता शिक्षकमध्ये ७५ प्रतिशतलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने उल्लेख छ ।