काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आगामी महाधिवेशनसम्म पार्टीको नाम परिवर्तन गर्ने तयारी गरेको छ। माओवादीले अन्य कम्युनिस्ट घटकसँग पार्टी एकता गर्न वार्ता, संवाद र छलफल जारी राखेकाले पार्टीको नाम फेर्न लागेको हो। गत भदौ २५ गते बसेको पदाधिकारी बैठकले चारबुँदे आन्तरिक परिपत्र जारी गर्दै पार्टीको नाम फेर्ने गरी निर्णय गर्ने उल्लेख छ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङद्वारा हस्ताक्षरित परिपत्रमा कोष्ठकमा रहेको ‘माओवादी केन्द्र’ को नामबारे आवश्यक निर्णय लिन सकिने उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, “नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र अन्य कम्युनिस्ट घटकसँग पार्टी एकताको विषयमा गम्भीर ढङ्गले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोष्ठकमा रहेको माओवादी केन्द्रबारे आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिने छ।”
पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले माओवादी केन्द्रले अन्य कम्युनिस्ट पार्टीसँग एकता गर्न छलफल अघि बढाएकाले त्यस अवस्थामा पार्टीको नाम फेर्न सकिने बताए। “अहिलेकै अवस्थामा माओवादी केन्द्रको नाम फेरिँदैन । अन्य कम्युनिस्ट पार्टीसँग एकता गर्न छलफल जारी भएकाले त्यस अवस्थामा पार्टीको नाम फेरिन सक्छ । त्यो पनि पार्टी महाधिवेशनपछि मात्रै नाम फेरिने हो ”, उनले भने ।
