काठमाडौँ । नेकपा(एमाले)का सांसद रघुजी पन्तले प्रधानमन्त्रीको चिन भ्रमणमा नेपाल–चिन विद्युत् व्यापारको विषयमा छलफल गर्नुपर्ने बताएका छन्

शुक्रवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले नेपालको विद्युत् व्यापार भारतसँग निर्भर रहँदा भारतले दबाबमा राख्नसक्ने भन्दै चीनसँग पनि व्यापार गर्नुपर्ने बताए ।

उनले चीनसँग विद्युत् व्यापार गर्ने सम्बन्धमा प्रधानमन्त्रीको भ्रमणको बेलामा छलफल गर्नुपर्ने बताए । त्यस्तै बिआरआई परियोजनालाई पनि अगाडी बढाउनुपर्ने उनले बताए । उनले प्रधानमन्त्रीले अमेरिका हुँदै चीन जानु उपयुक्त नहुने पनि बताए । त्यसैगरी चीनसँग ३/४ वटा नाका खोल्नुपर्ने पनि उनले बताए ।

उनले भने ‘प्रधानमन्त्रीले चीन, भारत, अमेरिकाजस्ता देशहरूमा जाँदा कुनै अर्को देशलाई बाटो पारेर जानु त्यति उपयुक्त हुँदैन । नेपालबाट चीन भ्रमण जाँदा त्यसको सन्देश बढी राम्रो र गहकिलो जान्छ । अमेरिका हुँदै जाँदा त्यसको म्यासेज अलि कमजोर हुनसक्छ । हामीलाई कम महत्त्व दिएको हो कि तेस्रो देश गएर आएको भनेर त्यो देशले महसुस गर्नसक्छ । बिआरआईलाई अगाडी बढाउनुपर्छ । थप सहयोगको क्षेत्र खोल्नुपर्छ । बिजुलीको बजार भारतमा हुँदा उसले भनेको भाउमा बेच्नुपर्ने अवस्था आउनसक्छ । त्यसो हुँदा बिजुलीको बजार चीन, तिब्बततिर पनि खोज्नुपर्छ । ट्रान्समिसन लाइन नेपालको विभिन्न भागबाट चीनतिर कहाँ जोड्न सकिन्छ त्यो सम्भावना खोज्नुपर्छ । ३÷४ वटा नाका खोल्नुपर्यो । कोरला लगायतका नाका खोल्नुपर्यो ।’

नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले भ्रमणका बेलामा प्रधानमन्त्रीले देशको राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमिकतालाई असर नगर्ने गरी काम गर्नुपर्ने बताए । उनले नेपाली भूमिको सम्बन्धमा पनि कूटनीतिक रूपमा स्पष्ट रूपमा कुरा गर्नुपर्ने बताए । प्रधानमन्त्रीको भ्रमणपछि तेल र रेलको समस्या समाधान हुने उनले विश्वास व्यक्त गरे ।

उनले भने ‘देशको राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमिकतालाई असर नगर्ने गरी राम्रो काम गर्नुहोस् । कोहीसँग हाम्रो सम्बन्ध मित्रराष्ट्रहरूसँग यो सँग र त्यो सँग ढल्किने र पल्किने काम गर्नु हुँदैन हामीले भनेकै छौँ । हामी सबैसँग मिलेर काम गर्न चाहन्छौँ । भ्रमण गर्दाखेरी नेपाललाई हित हुने कामका लागि राम्रो गरेर आउनुस् भन्ने सुझाव दिएका छौँ । प्रधानमन्त्रीले कूटनीतिक रूपमा यो हाम्रो भूमिका बारेमा भारत र चीनसँग पनि सम्वाद गरेर नेपालको भूमिका बारेमा स्पष्ट कुरा गर्नु हुनेछ । भारतजाँदा तेलको कुरा गर्ने, चीन जाँदा रेलको कुरा गर्ने प्रधानमन्त्रीहरू थिए । तेलको पनि, रेलको पनि सबै समस्या समाधान हुनेगरी प्रधानमन्त्रीले कुरा गरेर आउनु हुनेछ भन्ने विश्वास लिएका छौँ ।’

नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्रीले यस भ्रमणका क्रममा नेपाल–चीन नाका खोल्ने विषयमा निर्णय हुने बताए । उनले व्यापारको विषयमा पनि छलफल हुने बताए । त्यस्तै देशको राष्ट्रियतालाई ख्याल गर्दै अन्य छिमेकी मित्रराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धहरूलाई पनि सुुमधुर, सन्तुलित रूपमा राख्ने हिसाबले चिनियाँ पक्षसँग छलफल र सम्झौताहरू हुने बताए ।

उनले भने ‘चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउनु भएको बेलामा हामीले नाका खोल्ने बारेमा, व्यापारको बारेमा, केही ठुलठुला परियोजनाको बारेमा २० बुँदे हस्ताक्षर भएको थियो । उहाँहरूको पनि चासोको विषय भनेको बिआरआई परियोजना हो । हाम्रो देशको राष्ट्रियतालाई पनि ख्याल पुर्याउँदै अरू छिमेकी मित्रराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धहरूलाई पनि सुुमधुर, सन्तुलित रूपमा राख्ने हिसाबले चिनियाँ पक्षसँग यसपटकको भ्रमणको बेलामा महत्वपूर्ण विषयहरूमा छलफल हुनेछ । व्यापार, साझेदारको विषयमा गम्भीर छलफल भएर निर्णय हुने आशा गर्न सकिन्छ ।’

त्यस्तै नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रधानमन्त्रीको चीन भ्रमणको बेलामा सीमा सम्बन्धी समस्या समाधान गर्ने विषयमा पनि छलफल हुने बताए । नेपालको चुच्चे नक्साको सन्दर्भमा पनि चिनियाँ पक्षसँग छलफल हुने र प्रधानमन्त्रीले उनीहरूलाई सो कुराको बोध गराउने उनले बताए ।

उनले भने ‘मुलुक र जनताको हितलाई केन्द्रमा राखेर हामीले चीनसँगका हाम्रा समस्याहरू, विशेष गरी नाकामा समस्या छन् । व्यापारिक समस्या छन् । भौतिक पूर्वाधारमा चिनको सहयोगको अपेक्षासहित व्यवस्थित ढंगले चिनियाँ सरकारसँग हाम्रा कुराहरू राखिन्छ । सीमा सम्बन्धी समस्याहरू छन् । सीमा सम्बन्धी समस्याहरूमा पनि छिमेकी राष्ट्रहरूलाई विश्वासमा लिएर समाधान गर्ने बारेमा राख्ने । चुच्चे नक्साको कुरामा यो हाम्रो भूमि हो भन्नेकुरा बोध गराउने काम पनि यो पटक एजेण्डाभित्रै पर्छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्रीलाई नेपालको चुच्चे नक्साको कुरा नटुंग्याइ चीन भ्रमण नजान सुझाव दिए । उनले हङकङ ट्रान्जिटमा नेपाल एयरलाइन्सले प्यासेन्जर बोक्न नपाएको भन्दै सो समस्या समाधान गर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।

उनले भने ‘चीन भ्रमण जानु अगाडी हामीले भनेका छौँ, चुच्चे नक्साको कुरा नटुंग्याइ चिन भ्रमण नगए हुन्छ । चिन भ्रमण जाँदै गर्दा प्रधानमन्त्रीज्यूलाई हामीले के भनेका छौँ भने हङकङमा नेपाल एयरलाइन्स पनि जान्छ । त्यहाँको क्याथ एयरलाइन्स पनि छ । ट्रान्जिटमा नेपाल एयरलाइन्सले प्यासेन्जर बोक्न पाउँदैन । त्यो जसरी पनि अन्त्य गरेर नेपाल एयरलाइन्सलाई पनि ट्रान्जिटका प्यासेन्जरहरू बोक्न पाउने नीति बन्नुपर्छ । हङकङस्थित महावाणिज्य दूतावासमा त्यहाँको महावाणिज्य दुतले ४८ हजारभन्दा बढी हङकङ एचकेडी डलरमा कोठाभाडा लिनुहुन्छ तर मकाउमा ४ हजार एचकेडी हङकङ डलरमा कोठा पाइन्छ । त्यहाँ अफिस नराखेर हङकङ र मकाउका जनतालाई सास्ती भोग्नुपरेको छ । त्यो काम तत्काल पूरा गरुन् ।’

शाहीले हङकङस्थित महावाणिज्य दूतावासले धेरै रकम कोठाभाडा बापत तिर्नुपरेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए । मकालुखबरबाट साभार