काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपालीबीचको सद्भाव खलबल्याउने प्रयास भइरहेको बताएका छन्। बुधबार धुलिखेलमा आयोजित ‘युथ आइडिया कन्क्लेभ’ कार्यक्रममा सम्बोधन गर्दै उनले त्यस्तो प्रयास भित्रबाट र बाहिरबाट भइरहेको बताए। यद्यपि, उनले प्रष्ट रुपमा कसैको नाम भने लिएनन्।
‘हामीहरूको बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक देश हो। कुनै पनि जातजातिको बाहुल्यता नेपालमा छैन। हामीहरू सद्भावका साथ राम्ररी बसिरहेका छौँ। त्यसलाई खलबल्याउने प्रयास भित्रबाट र बाहिरबाट भइरहेको छ,’ उनले भने, ‘हामी नेपाली कांग्रेसका साथीहरू यो विषयमा गम्भीर हुनुपर्छ। यसलाई कुनै किसिमबाट खलबल्याउन दिनुहुँदैन।’
उनले अहिले कोशी प्रदेशमा अत्यन्त भयावह स्थिति रहेको बताए। ‘त्यहाँ धर्मको नाममा मन्दिरका अगाडि चर्च बनाइदिए। त्यसपछि गोरु काटेर खाने त ठिकै छ, खानेले खान्छन्, फेसबुकमा हालिदिए। आजकाल सामाजिक सञ्जाल छ। त्यसलाई चेक गरेर सकिँदैन। देख्दा धार्मिक लडाइँ जस्तो देखिन्छ। तर जातीय लडाइँमा हामीहरू फस्दै गइरहेका छौँ,’ उनले भने।
बीपीबाट आफूले जनतासँग जोडिनुपर्ने, अनि मात्रै कांग्रेस बढ्ने कुरा सिकेको भन्दै कोइरालाले कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्तालाई जनतासँग जोडिएको छैन भने कांग्रेसका नलाग्न आग्रह गरे।
अर्को प्रसंगमा कोइरालाले नेपाली कांग्रेस भित्र सभापति र दुई जना महामन्त्री दुई ध्रवमा बाँडिएको बताए। उनको प्रश्न थियो, ‘अनि पार्टी चल्छ कसरी? हामीले सोचेका छौँ कहिले? यतातिर पनि हामीले सोच्नुपर्ने आवश्यकता छ।’
