काठमाण्डौ : नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनले नेपाली राजनीतिक वृत्त स्तब्ध भएको छ ।

शिक्षण अस्पतालका अनुसार, उहाँलाई राती १:२० बजे अस्पताल ल्याइएको थियो। अस्पतालले नियमित प्रक्रिया पूरा गरेपछि ४:२० बजे नेता सुवासचन्द्र नेम्वाङको निधनको औपचारिक घोषणा गरेको हो।

स्वच्छ र इमान्दार छवि भएका नेता सुवासचन्द्र नेम्वाङको जन्म २००९ फागुन २८ गते इलाममा भएको हो। उहाँको जन्मथलो इलामबजार नजिकै सुन्तलाबार हो । सुवासचन्द्र नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा प्रवेश गर्नु भएको हो। २०३३ सालमा राजद्रोह मुद्दामा उहाँ केही समय जेल पर्नुभयो। स्नातक अध्ययनका क्रममा २०२८ सालमा अनेरास्ववियुबाट इलाम बहुमुखी क्याम्पसको स्ववियु सभापति बनेयता सुवासचन्द्र नेम्वाङ राजनीतिमा निरन्तर सक्रिय हुनुभयो।

कानुनका ज्ञाता, वरिष्ठ अधिवक्ता सुवासचन्द्र नेम्वाङले नेपाल ल क्याम्पसमा पढाउनु भएको थियो। ल क्याम्पसका सयौ विद्यार्थीका बीचमा उहाँ अहिले पनि “सुवास सर” का रूपमा लोकप्रिय हुनुहुन्छ। प्राध्यापन, कानुन व्यवसाय र राजनीतिलाई एकसाथ अघि बढाउन सफल सुवासचन्द्र नेम्वाङ नेपाल बार एसोसिएसनको महासचिव समेत हुनुभएको थियो।

सुवासचन्द्र नेम्बाङ २०५६ र ०७४ सालको संसदीय निर्वाचनमा विजयी बन्नुभएको थियो। यस्तै २०६४ र २०७० सालका दुवै संविधानसभा निर्वाचनमा पनि इलाम क्षेत्र नं. २ बाटै विजयी हुनुभएको थियो। २०४८ र २०५१ सालमा नेम्वाङ राष्ट्रियसभा सदस्य समेत बन्नुभएको थियो। उहाँ सभामुख र दुवै संविधानसभाका अध्यक्ष हुनुभयो।

एक पटक संसद्को सार्वजनिक लेखा समिति अध्यक्ष समेत बन्नुभएका नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री समेत हुनुभयो।