काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले करिब ६१ केजी सुन तस्करी प्रकरणमा तीन कसुरमा मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको छ । सीआईबीले ब्रेक सुको आवरणमा लुकाई भन्सार जाँचपासपछि बरामद भएको सुनलाई बजार मूल्यअनुसार आउने रकम बिगो कायम गरेर संगठित अपराध, राजस्व भन्सार छली र नेपाल राष्ट्र बैंक ऐनविरुद्धको कसुरमा मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको हो ।
यो प्रकरणमा एलेक्स भनिने चिनियाँ नागरिक याओ फुचेनलाई मुख्य कारोबारी र तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङलाई अवैध सुन गन्तव्यसम्म पुर्याउने मुख्य ‘व्यवस्थापक’ किटान गरेर प्रहरीले अनुसन्धान टुंग्याएको हो। सीआईबीका अनुसार चिनियाँसहित ९ विदेशी र २१ नेपालीलाई मुद्दा चलाउने गरी प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पेस गर्दैछ ।
विद्युतीय चुरोट (भेप) मा भित्रिएको ९ केजी सुन प्रकरणको मुद्दा भने छुट्टै जाने सीआईबीले जनाएको छ । भेपमा सुन ल्याउने गिरोहका नाइके दावाजिन वाङसहितका तस्कर भने फरार छन् । ब्रेक शुको सुन प्रकरणमा भने मुख्य अभियुक्त किटान गरिएका एलेक्सलाई राजनीतिक, प्रशासनिक र अन्य संयन्त्रसँग सम्पर्क सम्बन्ध बनाउने भूमिका दावा छिरिङले खेलेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । सुन तस्करीकै लागि दावा र उसको कनेक्सनमा रहेको सञ्जालले फर्जी विवरणमा काभ्रे र काठमाडौंबाट नागरिकता र राहदानी निकालेको पनि भेटिएको छ ।
