दाङ । दाङको टरिगाउँ विमानस्थलबाट पुनः उडान शुरु भएको छ । विभिन्न कारण देखाउदै उडान अनियमित गरेको नेपाल वायुसेवा निगमले सेवालाई पुनः निरन्तरता दिएपछि उडान पुनः शुरु भएको हो । कहिले यात्रु अभाव त कहिले जहाज अनियमित हुँदा बन्द भएको एयरपोर्टबाट पुनः सातामा तीन दिन उडान सुरु भएको हो ।

चार महिना अघिसम्म नियमित नेपाल वायु सेवा निगमको १९ सिटे टुइनेटर हप्तामा ४ दिन तुलसीपुरमा उडान भर्ने गरेको थियो । तर यसअघि पर्याप्त यात्रुहरू नहुँदा नियमित उडान भर्न नसकेको भन्दै सेवा प्रभावित भएको थियो ।

अहिले टरिगाउँ एयरपोर्टबाट आइतबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन दिन मात्रै उडान हुने गरे पनि मौसम तथा अन्य कारणले कहिलेकाहीँ समस्या हुने गरेको नागरिक उड्डयन कार्यालय तुलसीपुरका प्रमुख चेतराज भट्टले जानकारी दिए । यात्रु भएको अवस्थामा हप्तामा ३ दिन उडान हुने गरेको उनले बताए । भट्टले यात्रुहरूको अभाव र महँगो भाडादरका कारण नियमित उडानमा समस्या भएको बताए ।