काठमाडौं । प्रतिपक्ष दल नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन माग गर्दै लामो समयदेखि संसद अवरुद्ध गर्दै आएपछि सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरू सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन सहमत भएका छन्।
सोमबार राति सिंहदरबारमा बसेको सर्वदलीय बैठकले सर्वदलीय समिति गठनमा शीर्ष नेताहरूबीच सहमति जुटाएको हो। प्रहरीले गरिरहेको अनुसन्धानलाई असर नपर्ने गरी समिति बनाउन सत्ता पक्ष र प्रतिपक्षबीच सहमति जुटेको बताइएको छ ।
सुनकाण्डको विषयमा जाँचबुझ आयोग बन्ने र सीआईबीले पनि निरन्तर अनुसन्धान जारी राख्ने गरी सहमति जुटेको हो ।यसको मोडालिटी तय गर्न बैठकले तीन सदस्यीय कार्यदल बनाएको छ । कार्यदलमा एमालेका तर्फबाट दलका उपनेता सुवासचन्द्र नेम्वाङ, कांग्रेस प्रमुख सचेतक रमेश लेखक र माओवादी प्रमुख सचेतक हितराज पाण्डे छन् । कार्यदलले बनाएको मोडालिटीको मस्यौदा शीर्ष नेताहरूको बैठकमार्फत टुंग्याउने सहमति छ ।
समितिले तयार पारेको मस्यौदामा आज दिउँसो २ बजे हस्ताक्षर गर्ने र ३ बजे हुने संसद्को बैठक सुचारु गर्ने सहमति भएको छ। सुन तस्करीमा उच्चस्तरीय छानबिनको माग गर्दै प्रतिपक्ष दल एमालेले साउन १० देखि संसद अवरुद्ध गर्दै आएको थियो ।
