काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारभन्दा सुशासन, सामाजिक न्याय र समृद्धि बढी महत्त्वपूर्ण भएको बताएका छन् ।

पार्टीको बागमती प्रदेश समितिको पाँचौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै दाहालले भने ‘‘सुशासन, सामाजिक न्याय र समृद्धिको नारालाई एउटा सङ्कल्पका रूपमा लिएका छौँ । यसरी काम गर्दा जहाँ बेतिथि देखिन्छ, जो कोही पनि नछुटोस् भन्नेमा छौँ ।’’

आफूहरुसहि बाटो हिँडेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भ्रष्टाचार सम्बन्धी कामले सरकार अप्ठ्यारोमा नपरेको बताए । आफूहरूको कदमले प्रतिक्रियावादीमा एउटा आतङ्क सिर्जना भएको भन्दै उनले भने ‘‘उनीहरूको षड्यन्त्र र घेराबन्दी जति भए पनि हामी अप्ठ्यारोमा छैनौँ । हामीले सुरुदेखि सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको पक्षमा नयाँ ढङ्गले काम गर्नुछ ।’’

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेको प्रधानमन्त्री दाहालले तीन महिने अभियानले पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने समेत दावी गरे ।